नेकपाभित्रको आन्तरिक विवाद, विवाद मिलाउन नेता भुसालको तीन सुझाव

नेकपाभित्रको आन्तरिक विवाद, विवाद मिलाउन नेता भुसालको तीन सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेमौसमी दुई अध्यादेश ल्याएको र पार्टीमा एकलौटी शासन चलाएको आरोप लगाउँदै नेकपाभित्र आन्तरिक विवाद बढेको हो ।
पार्टीभित्र असन्तुष्ट पक्षले कोठे बैठकदेखि सत्ता समिकरण फेरबदलमा लागेको उच्च स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले पनि नेपाल र प्रचण्ड पक्षले आफूलाई पार्टीमा अलग्याँउदै अगाडि बढेको आकलन गर्दै बुधबार बालुवाटार बैठकमा आफू पक्षका सांसदलाई जुनसुकै परिस्थिति आएपनि सामना गर्न तयार रहन आग्रह गरी सकेका छन् ।

त्यस्तै नेपाल पक्षका नेताहरुले पनि स्थायी कमिटिको बैठक बसेर प्रधानमन्त्री ओलीलाई लगाम लगाउने पक्षमा देखिन्छन् । स्थायी कमिटिमा आफ्नो सहजै हार हुने ठानेका ओली सकभर स्थायी कमिटिको बैठक बोलाउन आलटाल गरेका छन् ।  तर, पछिल्लो समय नेकपाभित्र वार की पारको रुपमा देखिएको विवाद असामान्य परिस्थितिमा भएको धेरैको बुझाइ छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणमा नेपाल पनि जुधिरहेकाले अहिले नै सरकार फेरबदल गर्न नहुने नेकपाभित्र तिखो आलोचकका रुपमा परिचय बनाएका नेता एवंं कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको बुझाइ छ ।

मन्त्री भुसालले अहिले सत्ता समिकरण फेरबदल गर्ने उपयुक्त समय नभएको र पार्टीभित्र केही गुनासा भए सम्वादबाटै समाधान गर्न सकिने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत पार्टीभित्रको विवाद सम्वादबाट सुल्झाउनु पर्ने बताएका हुन् ।
सामाजिक सञ्जालबाट उनले विवाद समाधान गर्न तीन वटा सुझाव समेत दिएका छन् । मन्त्री भुसालले दिएका सुझावमा नहडबडाउँ, संवाद गरौं र संस्थागत प्रणालीभित्रै समाधान खोजौं भन्ने रहेको छ ।

उनले नेपाली राजनीतिमा विगतको इतिहास हेर्दा राजनीतिक पार्टी शक्तिशाली हुँदा टुक्रा टुक्रामा विभाजन भएकोतर्फ पनि सचेत गराएका छन् ।

मन्त्री भुसालले सामाजिक सञ्जालमा लेखेका छन् ।
२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो ।

२०६४, ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र विभाजनको प्रक्रियामा गयो ।

आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ । र यसमा समस्या थपिँदै गएका छन् ।

समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ ।

पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न
पहिलो, नहडबडाउँ
दोस्रो, संवाद गरौं
तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं ।

आज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ ।

Skip This
Skip This
Logo