‘ओली प्रवृत्तिलाई इतिहासबाट छिटो विदा गरौं’ :डा. बाबुराम भट्टराई

‘ओली प्रवृत्तिलाई इतिहासबाट छिटो विदा गरौं’ :डा. बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी ( यस अघिको समाजवादी पार्टी ) का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्।

उनले ओलीले गरेका पछिल्ला कामहरुलाई ४ वर्गमा टिप्पणी गर्दै भष्मासुर प्रवृत्ति, हिटलर प्रवृत्ति, स्टालिन प्रवृत्ति र चाउचेस्कु प्रवृत्ति भन्दै कडा शब्दमा आलोचना गरेका छन् ।

भट्टराईले लेखेका छन्, :

( यो भष्मासुर प्रवृत्ति हो : हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ, तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्को) टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् । ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ ।

( यो हिटलर प्रवृत्ति होः जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततः दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ । नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति र समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ।

( यो स्टालिन प्रवृत्ति हो ः रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति (मुख्यतः कृषि क्षेत्रमा) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए । नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

( यो चाउचेस्कु प्रवृत्ति होः पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाई चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार, विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ) ,फजुलखर्च, स्वेच्छाचारिता, आफन्त र आसेपासेवाद, मनपरीतन्त्र गर्थे र पार्टी नेता र कार्यकर्ता तथा जनता यति निरीह, लाचार, पीडित थिए कि अन्ततः जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नु परेको थियो । नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरण र ओम्नीप्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार,राष्ट्रपतिर प्रधानमन्त्रीको फजुल खर्च र विलासी शैली, ढाँटबाँट, आसेपासेको बाक्लो घेरा र उदण्ड शैली, मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फाउन्डेशन, एनजीओ, आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता, आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ ।

अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं , नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ ।


 

Logo