नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार राजधानीमा आफ्नो गुटको भेलालाई सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहोरलाई सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा सिटौलाले अहिले कांग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गरे ।
नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भने, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहोर छर्दै हिन्छ । एउटाले फूलको रस बटुल्दै हिड्छ । एउटाको परोपकारी गुण छ । एउटाको ध्वंशकारी गुण छ ।’ प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशिल बनाउनुपर्ने बताए । परिवर्तित कांग्रेसको काँधमा कम्युनिष्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उनले आग्रह गरे । आगामी निर्वाचनमा सफलताको शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उनले आग्रह गरे ।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्मको क्रियाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताए । नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे । महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाई छ ।
जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उनले लगाए । थापाले भने, ‘महामन्त्री सचिवालयको प्रमुख हो । यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर त्यहाँबाट महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो ।’
काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलामा नेताहरुले आफुहरु कांग्रेसमा सुधार गर्दै अगाडि बढ्ने अभियानमा रहेको बताएका छन् ।































प्रतिक्रिया