संक्रमण फैलिएका मुलुकहरुमा हवाई उडान स्थगित गर्न सरकारलाई कांग्रेसको आग्रह

संक्रमण फैलिएका मुलुकहरुमा हवाई उडान स्थगित गर्न सरकारलाई कांग्रेसको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै संक्रमण फैलिएका मुलुकहरुमा हवाई उडान स्थगित गर्न सरकारलाई आग्रह गरेको छ ।

चीनसँग जोडिएको केरुङ नाकामा कडाई गरिएपनि भारतसँग सीमा जोडिएका नाकाहरुमा निर्वाध आवतजावत भइरहेकाले तत्काल कडाई गरी विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न कांग्रेसले आग्रह गरेको हो । पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने अवस्था बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन आग्रह गरे ।

यसैगरी कोरोना संक्रमित मुलुकहरुको सूची सार्वजनिक गरी ती देशहरुमा नेपालीको भ्रमणमा अस्थायी रोक लगाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अगाडी बढाउन पनि कांग्रेसले आग्रह गरेको छ । एन—९५ मास्कको पर्याप्त प्रबन्ध गर्न र बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको प्रवक्ता शर्माले बताए ।

संक्रमण भित्रिएर देशभरी फैलिएको अवस्थामा त्यसको नकारात्मक परिणामले खाद्यान्नमा पर्न सक्ने सम्भावित संकटतर्फ पनि समयमै ध्यान दिन सरकारलाई आग्रह गरिएको छ । पूर्व सतर्कताका लागि जनचेतना अभिवृद्धि गर्न आमसञ्चार माध्यमहरुका समुचित प्रयोग गर्ने कार्यमा ध्यान दिन आग्रह गर्दै कांग्रेसले जोखिमको सामना गर्न कुनै पनि ढंगले कमजोरी र सम्झौता नगर्न तथा सम्पूर्ण नेपालीहरुमा संयमतापूर्वक सतर्कताका लागि अपिल समेत गरेको छ ।

Logo