केन्द्रबिन्दु बुलेटिन : दुई अंकको सिट जितेर देखाउन प्रचण्ड-माधव समूहलाई प्रधानमन्त्रीको चुनौती (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : दुई अंकको सिट जितेर देखाउन प्रचण्ड-माधव समूहलाई प्रधानमन्त्रीको चुनौती (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई अबको निर्वाचनमा देशभरबाट दुई अंकको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । धनगढीमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । उनले दाहाल–नेपालको नेकपा समूह भगौडा भएकाले भगौडाको पछि नलाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७, १७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा पानी ल्याउँदैछ । यस अघि असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो ।

गत चैतदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय कोभिड–१९ को जोखिम घट्दो पाइएपछि माघदेखि क्रमशः खुल्ने भएका छन् । उपत्यकाका सामुदायिक तथा निजी विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोल्ने तयारी भएको हो । गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरुले सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् । त्यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।

१२० जनामा कोरोना भाइरस देखिएपछि चीनको उत्तरी सहर सिजियाझुआङमा कडा लकडाउनको घोषणा गरिएको छ । संक्रमित संख्या बढेपछि चीनले चिनियाँ नयाँ वर्षको केही हप्ता अघि नै यस्तो कडा लकडाउन गरेको हो । यसैगरि अस्ट्रेलियाको सहर ब्रिसबेनमा पनि एक जनामा कोरोनाको सङ्क्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ ।

Logo