काठमाडौं ।
नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ गते (आज) एक वर्ष पुगेको छ ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका थिए । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विभिन्न माध्यमबाट राजनीतिक जागरणमा आफ्नो भूमिकालाई सशक्त बनाउँदै आएका थिए ।
विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका अधिकारीले विभिन्न जिम्मेवारी बहन गर्दै २०४९ सालमा पिएन क्याम्पस र २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न सफल भएका थिए । उनले २०४५ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका थिए ।
वि.सं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भएका थिए । उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनको निधन पश्चात् २०७६ जेठ १८ गते उनका योगदानलाई चिरस्थायी बनाउन ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’को स्थापना गरिएको छ । जसको अध्यक्ष रवीन्द्र पत्नी विद्या भट्टराई रहेकी छिन् ।
रासस





























प्रतिक्रिया