काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक आज तेस्रो दिनपनि अवरोध गरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु भए लगत्तै कांग्रेसका सांसदहरूले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए । सांसदहरूले उभिएर अवरोध गरेपछि सभामुखले बस्न आग्रह गरे ।
सांसदको आग्रहसँगै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बोल्न खोज्दा पनि सभामुखले माइक खोलेनन् । सामानयतयाः कार्यव्यवस्था परामर्श समितिमा बैठक अवरुद्ध हुने विषयमा जानकारी हुन्छ । कसलाई बोल्न दिने भन्ने विषयमा समेत समझादरी बनेको हुन्छ । तर आज त्यसो हुन सकेन ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसले लगातार तेस्रो पटक बैठक चल्न नदिएको हो । सभामुख सापकोटाले आइतबारसमेत गरी तीन पटकसम्म बैठक अवरुद्ध भएको बताउँदै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सुचारु गर्न सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका थिए ।
२ पटक संसदबाट प्रतिपक्षी दलले आफ्नो कुरा राखिसकेको भन्दै उनले आज बैठक सुचारु गर्न गरेको आग्रह कांग्रेसले मानेन् । संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै उनले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताए । बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।































प्रतिक्रिया