काठमाडौं ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमणरुपमा अघि बढेको गुनासो गरेका छन् ।
बुधबार काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकार विरुद्ध प्रचार युद्ध मात्रै नभई आक्रमण नै डरलाग्दो गरि छेडिएको गुनासो गरे । उनले सरकार विरुद्धको आक्रमणको वादविवाद नगरि काम गरेर जवाफ दिने पनि बताए । उनले भने “हाम्रा विरुद्ध प्रचारयुद्ध डरलाग्दो गरि छेडिएको छ । तर हामी वाद विवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिदै आएका छौं ।”
लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले बैचारिक आग्रह पुर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गरे । उनले भने “लोकतन्त्रप्रति हाम्रो निष्ठाको सवालमा प्रश्न उठाउने गरिएको छ । हाम्रो पार्टीको नामको कारणले कतिमा बैचारिक पुर्वाग्रह पनि हुन सक्छ । त्यो पनि होला । तर हामी पुर्वाग्रहभन्दा माथि उठेर २१ औ शताब्दीमा मानवजातीले प्राप्त गरेको उपलब्धि, मुल्य मान्यताको कसिमा आफूलाई प्रस्तुत गर्न चाहन्छौ ।”
उनले लोकतन्त्रलाई पूर्ण डेमोक्रेशीको रुपमा अगाडि बढाउदै न्याय र हक अधिकारसम्मको पहुँच सबैका लागि सुरक्षित गर्दै शान्तिपूर्ण, आधुनिक र सम्मानयुक्त समाज निर्माणमा सरकार अघि बढेको स्पष्ट पारे । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता लगायत विषयमा सरकार विरुद्ध आवाज उठाउनुको कुनै अर्थ नरहेको पनि दाबी गरे ।
उनले भने “हाम्रा बारेमा प्रेस स्वतन्त्रता वा स्वतन्त्रताका हकका बारेमा प्रश्न उठ्नु वास्तवमा निर्रथक कुरा हो ।” नेपाली कांग्रेस, नेकपा तथा विभिन्न समुहले विभिन्न विषय र सन्र्दभमा समय समयमा हतियार उठाएको भएपनि नेपालको राजनीति अन्तत्वगत्वा शान्तिपूर्ण बाटोमा आएको र आधारभूत सहमतिका साथ अगाडि बढ्ने बाटोमा अघि बढेको उनले दाबी गरे । अन्तराष्ट्रिय मुल्य मान्यता र राजनीतिक प्रणालीका लोकतान्त्रिक विशेषतालाई जनताको जनवाद भनेर नामाकरण गरिएको भन्दै उनले सार्वभौमसत्ता जनतामा रहेको व्यवस्था र शक्ति पृथकिकरणको व्यवस्था अनुरुप जाने ढंगले अगाडि बढेको पनि स्पष्ट पारे ।
कोही पनि भोकै नपरोस् भन्ने तर्फ सरकार सजग र सर्तक भएको भन्दै प्रधानमन्त्रीले सोही अभियान अनुसार काठमाडौंका सडक मानवरहित भएको बताए । उनले भने “सडक मानव हुन दिएका छैनांै । सडक बालबालिकाको अन्त्य गरेका छौं । सडक मानव अन्त्य गरेका छौं र कोही पनि भोकै मर्ने स्थितिको अन्त्य गरेका छौं । सम्मृद्धि हासिल गर्ने बाटोमा, विकासको बाटोमा , सुशासन कायम गर्ने बाटोमा, भ्रष्टाचार रोक्ने बाटोमा र भ्रष्टाचार नियन्त्रण गर्ने बाटोमा हामी छौ । सम्पूर्ण पुर्वाधारको आधार तयार भईसक्यो भन्ने होइन । ”
नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाईरसको संक्रमणले केही प्रभावित पार्ने देखिएको उल्लेख गर्दे सरकारले आवश्यक सावधानी अपनाउने उनले स्पष्ट पारे । उनले भने “हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण बर्षको सुरुवातमा कोरोना भाईरसतिर संकेत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थियो त्यो कसले कसरी बुझ्यो ।”
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोलेका विपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कस्तो धक्का के को धक्का भनी प्रश्न गरेका थिए ।
केन्द्रीय समिति बैठकमा भएको ढिलाई बारे
केन्द्रीय समितिको दोश्रो बैठक अस्वभाविक ढंगले विलम्ब हुन गएको भन्दै उनले सरकारको कारणले वा प्रधानमन्त्रीले समय दिन नसकेकाले बैठक बिलम्ब भएको भ्रम नराख्न आग्रह गरे । विभिन्न कारणले बैठक बस्न ढिलाई भएको र भविष्यमा यस्तो किसिमको ढिलाई नहुने कुरामा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । केन्द्रीय समितिको दोश्रो बैठक भएपनि बैठकको रुपमा संञ्चालन हुने पहिलो बैठक भएको र यो बैठक विधिबत रुपमा सञ्चालन हुने विश्वास दिलाए ।
सत्तापक्षको , विपक्षी दलको, विभाजन, एकताका विविध अनुभवहरु महसुस गर्दैै अहिलेको अवस्थामा आएको फेहरिस्त दिदै उनले वर्तमान अवस्थामा भने पार्टी एकताबद्ध भएर उभिएको उल्लेख गरे । पार्टी एकता आकस्मिक नभई अध्ययन अनुसन्धानपछि बैचारिक, सांगठनिक र व्यवहारिक आधार तयार गरेर त्यसलाई सम्मृद्ध बनाउदै लैजाने प्रतिवद्धताका साथ पार्टी एकिकरण भएको स्पष्ट पारे । उनले निर्वाचन पछि २ बर्षमा मुलुकले असाधारण प्रगती हासिल गरेको दाबी गरे ।
एमसिसी बारे
प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिकसँग जोड्नु आवश्यक नरहेको बताएका छन् । नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई एमसीसीले कुनै पनि असर नपार्ने र नेपाललाई होच्याउने, अपमान गर्ने कुरा सम्झौतामा नभएकाले यसबारे स्पष्ट हुन पनि केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । सम्झौता कार्यान्वयनमा आउनु अगाडि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले सो अनुमोदनको क्रममा रहेको भन्दै उनले यसले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने स्पष्ट पारे । शंका उपशंकाको आधारमा कुनै पनि देशको हिड्न इन्ट्रेष्टको पछि लाग्न आवश्यक नभएको भन्दै उनले एमसीसीलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार हुने बताए । उनले एमसीसी स्थापना विकास, शुसासन र कनेक्टीभिटीमा मात्रै अनुदान सहयोग खर्च गर्न पाईने गरि भएको भन्दै एमसीसी सम्झौतामा भएका सर्त र खर्चको क्षेत्रहरुको फेयरिस्त नै पढेर सुनाए ।
यति होल्डिङ्स
प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ती नगरेको दाबी गरे । वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र गर्ने भन्दै उनले यति होल्डिङ्सलाई लिजमा दिने काममा पनि सरकारले कुनै गल्ति नगरेको दोहोर्याए ।
‘नारायणहिटीको अगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनुहुन्थ्यो कि हुदैनथ्यो भन्ने बहसको विषय हुन सक्ला ’तर सरकारले दिने नीति लिईसकेकाले ती जग्गा लिजमा दिने काम भएको पनि उनले स्पष्ट पारे । उनले भने “लेख्नुपर्ने मान्छेले १ अर्ब लेख्नु पर्नेमा बाई मिस्टेक ६ अर्ब लेखेको रहेछ । मुल्य पनि नपर्ने ठाउँमा लिजमा, भुलचुकले लेखिएको विषयलाई लिएर कुरा भएको रहेछ ।”































प्रतिक्रिया