प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समयमा उत्कर्षमा पुगेको आन्तरिक कलहको समाधान खोज्ने क्रम जारी छ । यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आज विहिबार जिल्ला सभापतिहरुसँग झण्डै ३ घण्टा छलफल गरेका छन् । असन्तुष्ट पक्षले परामर्शका लागि भन्दै काठमाडौं बोलाएका जिल्ला सभापतिहरुलाई पार्टी सभापति देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा चियापानका लागि बोलाएका थिए ।
जिल्ला सभापतिहरुले केन्द्रीय समितिले पुस ११ गते गरेको निर्णयमा आफूहरुको असहमति रहेको कुरा सभापति देउवासमक्ष राखेका छन् । सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफुहरुले असन्तुष्टि राखेको जुम्लाका जिल्ला सभापति दीपबहादुर शाहीले जानकारी दिए ।
जिल्ला सभापतिहरुको असन्तुष्टि सुनिसकेपछि देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिएका थिए । वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आफूलाई नबोलाएकोमा समेत देउवाले चित्त दुखाएको शाहीले सुनाए । “मसँग हार्ने रामचन्द्र पौडेलले बोलाउँदा तपाईहरु आउने ? अनि त्यो बैठकमा आउँदै गर्दा मलाई किन खवर गर्नुभएन ? तपाईहरु देखि मेरो चित्तदुख्यो,” सभापति देउवाको भनाई उदृत गर्दै शाहीले भने, “भोलि तपाईहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरुको के हालत हुन्छ ?”
ललितपुरका जिल्ला सभापति मदन आमात्यले कांग्रेस एकजुट भएर अगाडि बढ्नुको बिकल्प नभएको बताए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने बताएको जानकारी दिए । वरिष्ठ नेता पौडेलले बेलाएको भेलामा उपस्थित नभएका जिल्ला सभापतिहरु पनि देउवासँगको चियापानमा सहभागि भएका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमति र सहमतिबाट महाधिवेशन भन्ने भावना जिल्ला सभापतिहरुको रहेको बताए ।
संस्थापनईतर समूहको बहिस्कारका बावजुत नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले २०७७ फागुनमा महाधिवेसन गर्ने, क्रियाशील सदस्यता वितरण लगायतका विधानका ब्यवस्था निलम्बन गर्ने, विभागहरुको संख्या ४७ बनाउने लगायतका निर्णय गरेको थियो ।
उक्त निर्णयपछि कांग्रेसभित्र चर्किएको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । संस्थापनईतर समूहले पुस ११ गतेको निर्णय सच्याउन सभापति देउवालाई दवाव दिने उद्देश्यले पुस २१ गतेदेखि आयोजना गरेको जिल्ला सभापतिहरुको भेला बुधबार सकिएको थियो ।































प्रतिक्रिया