काठमाडौं ।
संघीय संसद्को पाँचौं अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद् बैठक सारिएको छ । विभिन्न विधेयकहरू विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।
सत्तारूढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो । सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुबै जना सुभाष नेम्वाङलाई सभामुख बनाउने विषयमा सहमतिनजिक पुगेका थिए । सुरुमा नेम्वाङप्रति केही लचक देखिएका अध्यक्ष दाहाल पूर्वमाओवादी समूहको दबाबका कारण पछि हट्न बाध्य भएका थिए । जसका कारण सभामुख बनाउने नेकपाको प्रयास १५ दिनदेखि अनिर्णित हुँदै आएको छ ।
नेकपाले सभामुख आफूले नगुमाउनका लागि उपसभामुखको राजीनामा गराउने तयारी गरेको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि पार्टीले निर्णय गरे आफूले राजीनामा दिन तयार रहेको बताउँदै आएकी छिन् ।
पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भए पनि दुबै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चित जस्तो भएको छ । गत ४ पुसमा औपचारिकताका लागि प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ पुसका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ पुसमा बस्नेगरी स्थगित भएको थियो । निर्धारित कार्यसूची अनुसार बस्ने प्रतिनिधिसभाको बैठकले पहिलो कार्यसूचीमा सभामुख चयनको प्रक्रिया राखेको थियो । तर, बैठक बोलाइएको अघिल्लो दिन अर्थात् १५ पुसमा नै ११ दिन थप गरी २७ पुसको लागि बैठक बोलाइएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन प्रस्ताव गरेका छन् भने अर्का अध्यक्ष दाहालले भने अग्नि सापकोटालाई सभामुख बनाउने प्रस्ताव अघि सारेका छन् । सुरुका दिनमा व्यक्तिको नामभन्दा पनि कसले सचिवालयमा प्रस्ताव लैजाने भन्ने विषयमा छलफल केन्द्रित हुने गरेको थियो । पछिल्लो समयमा दुई अध्यक्षले व्यक्तिको विषयमा नै छलफल सुरु गरेको नेकपा स्रोतले बताएको छ । दुई अध्यक्षले कुनै निर्णयमा पुग्न नसक्दा प्रतिनिधिसभा बैठक नै बन्धक बनेको छ । पछिल्लोपटक गत १५ पुसमा दुई अध्यक्षबीच दुई घन्टा लामो समय छलफल भयो । त्यो छलफलको प्रमुख एजेन्डा सभामुखको चयन भए पनि कुनै सहमति जुट्न सकेन ।
दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा सरकारले संसद् बैठक २७ पुसमा बोलाउने गरी सूचना निकालेर सारियो ।
दुई अध्यक्षबीच सहमति हुन नसकी संसद् बैठक चल्न नसक्दा नराम्रो सन्देश गएको धारणा नेकपाकै नेताहरूले राख्न थालेका छन् । ‘सभामुखको टुंगो लगाएर मात्रै संसद् बैठक बोलाइनुपथ्र्यो । तयारी नगरी बैठक बोलाउँदा यसले राम्रो सन्देश गएको छैन,’ नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘अरूले हामीमाथि प्रश्न गर्नु स्वाभाविक हो । यसको जवाफ नेतृत्वले दिनुपर्छ ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले नेकपाका कारण संसद् नेतृत्वविहीन भएको बताइन् । ‘विधेयक अधिवशेन भनेर चिनिने हिउँदे अधिवशेनका बैठक अवरुद्ध भएको छ । यसले विधेयक छलफलसमेत प्रभावित हुने भएको छ,’ उनले भनिन् ।
राजधानीबाट































प्रतिक्रिया