काठमाडौं ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेता पौडेललाई भेट्न सोमबार उनकै निवास पुगेका उपसभापति विमलेन्द्र निधिलाई बिनापरार्मश एकलौटी ढंगबाट गरिएको निर्णय सच्याएपछि मात्र सहमतिका लागि छलफलमा बस्न सक्ने बताएका हुन् ।
पार्टीभित्र विश्वासको संकट बढ्दै गएको जनाउँदै नेता पौडेलले सहमतिका लागि भइरहेको प्रयास बीचमै छाडेर केन्द्रीय समितिबाट अनाय निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका थिए। व्यक्तिगत र गुटगत स्वार्थका लागि पार्टीलाई संकटमा नपार्न आग्रह गर्दै पौडेलले निधिलाई भनेका थिए, ‘यो तरिका ठिक भएन। निर्णय सच्याउनुस् ।’
त्यसपछि मात्र सहमतिका विषयमा छलफल गर्न सकिने धारणा पौडेलले राखेको निकट स्रोतको दाबी छ। पौडेललाई भेट्न निधि बोहोराटार पुग्दासँगै रहेका केन्द्रीय सदस्य हृदयराम थानीले महाधिवेशनको कार्यतालिका माग गर्ने पक्षलाई नै नसोधी निर्णय गर्नु जायज नभएको धारणा राखेका थिए । विवाद देखिएका धेरै विषय सहमझदारीतिर अघि बढीरहेका बेला एकलौटी ढंगबाट विभागको संख्या थप, नेपाल तरुण दलको कार्यकाल बढाउने निर्णय गरेको थियो। पार्टी विधानलाई आफुखुसी संशोधन र निलम्बन गरेको धारणा राख्दै थानीले उपसभापतिलाई निधिलाई भनेका थिए, ‘विधान संशोधन गर्दा पनि अर्को पक्षलाई सोध्नुपर्दैन ? कांग्रेसको विगतको परम्परा यही हो त ?’
देउवाबिरुद्ध मोर्चा बनाउँदै असन्तुष्ट
पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहितका नेताहरूको अनुपस्थितिमै बुहमतको आधारमा केन्द्रीय समितिबाट निर्णय लिनथालेपछि असन्तुष्ट पक्षीय नेता एक ठाउँमा उभिन पुगेका छन् । व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण विभिन्न समूहमा छरिएका नेताहरू सभापति देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका हुन्।
पार्टीको १३ औं महाधिवेशनदेखि नै विभाजित देखिएको यो समूहको उपस्थिति बिनै निर्णयपछि आगामी रणनीति बनाउन सोमबार एकै ठाउँमा भेला भएका छन् । १४ औं महाधिवेशनमा नेतृत्वका लागि आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका असन्तुष्ट पक्षीय नेताहरू सोमबार साँझको खानासहित आगामी रणनीति निर्माणका लागि छलफलमा जुटेका छन्।
नागरिकबाट





























प्रतिक्रिया