काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले हिजो गरेका निर्णयका बारेमा कसैले पनि बिरोध गर्नुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको जिकिर गरे । उनले भने, ‘हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित सदस्यहरुले सर्वसम्मतीले २०७७ फागुन ७ गतेदेखि फागुन १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । यो समग्र पार्टीको चाहना हो ।’
क्लबका आयोजित साक्षात्कारमा बोल्दै उनले सोही अनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिका पनि सार्वजनिक गरिएको सुनाए । हिजोको बैठकले विभागको संख्या थप्नेपनि निर्णय गरेको र बढि भन्दा बढि साथीहरुलाई जिम्मेवारी दिने उद्देश्य राखेको पनि महतले स्पष्ट पारे । उनले भने, ‘यसमा पनि कसैको असहमति हुनुपर्ने कुनै कारण म देख्दिन । बरु, हिजोको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय गर्न सकिएन । यसबारेमा केही असहमति बाँकी भएकाले हिजो नेविसंघबारे निर्णय नभएको हो ।’
केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेका निर्णयका बारेमा असहमति गर्ने विषय केही पनि नभएको उनको जिकिर छ । उनले थपे, ‘तरुण दलको ६ महिना म्याद थप गर्ने निर्णय उहाँहरुको पनि हो, विषयलाई ठूलो बनाउनु हुँदैन । उहाँहरु बैठकमा नआउनुको कारण केही पनि थिएन । आफू बैठकमा नआउने अनि पार्टीले गरेको निर्णय मान्दिन भन्नु हुँदैन ।’ उनले हिजोको बैठकमा जे निर्णय भएका छन् ती सबै समग्र पार्टी पंक्तिको भावनालाई ध्यानमा राखेर भएको पनि सुनाए । उनले भने, ‘पार्टीको अधिवेशन लगायतका विषयमा हिजो जे जति अन्यौलता थिए, अब ती सबै अन्यौलताहरु समाप्त भएका छन् ।’





























प्रतिक्रिया