कास्की ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् ।
कांग्रेस कास्कीद्वारा ४५ औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।
प्रतिनिधिसभा भङ्ग भएपछि अन्तर्राष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट गरे । निर्वाचनमा गए कांग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर उनले गरे । कांग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उनले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताए।
वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाइने बताए ।
सो अवसरमा पूर्वसभामुख एवं कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले प्रतिनिधिसभा विघटनले नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गर्दै त्यसको पुनःस्थापना नै अहिलेको उपयुक्त विकल्प हुने बताए ।
कांग्रेस नेता शुक्रराज शर्मा, पूर्वमन्त्री एवं आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, सोभियत बहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, कास्की कांग्रेसका सभापति कृष्ण केसी लगायतले देश संकटमा परेका बेला बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अवलम्बन गरेको बताउँदै वर्तमान सन्दर्भमा पनि यसको उत्तिकै सान्दर्भिकता रहेकामा जोड दिए ।































प्रतिक्रिया