म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभाले वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडामा कायम गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
मालिका, अक्षता, कलेजाबाङ, फूलबारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
त्यसैगरी गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगङ्गा नदीबाट पारि रहेका भूगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागिसमेत अनुरोध गर्ने निर्णय गाउँसभाले गरेको छ । वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ ।
पाखापानीलाई दुई वडामा विभाजन गर्ने, धौलागिरि गाउँपालिकाको वडा नम्बर ५ र बेनी नगरपालिकाका–१० लाई समेत प्रस्ताव गरिएको नयाँ गाउँपालिकामा समावेश हुनका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध र समन्वय गर्ने सभाले निर्णय गरेको छ ।
मौवाफाँटमा व्यवस्थापन भइरहेको जग्गामा प्रशासकीय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको छ । भवन निर्माणमा जिल्ला समन्वय समितिमार्फत ६० लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ ।
प्रशासकीय भवन निर्माणमा प्रदेश सरकारले एक करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रु नौ करोडसम्म बजेट उपलब्ध गराउन सक्ने कार्यविधि छ ।





























प्रतिक्रिया