हाम्रा सभापतिको नक्साका विषयमा प्रधानमन्त्रीप्रतिको भनाइ आंशका मात्र हो : प्रवक्ता शर्मा

हाम्रा सभापतिको नक्साका विषयमा प्रधानमन्त्रीप्रतिको भनाइ आंशका मात्र हो : प्रवक्ता शर्मा


 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको हो भनेर लगाएको आरोप विवादित बनेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसप्रति प्रस्टीकरण दिएका छन्  । उनले सभापतिले प्रधानमन्त्रीप्रति व्यक्त गरेको भनाइ आशंका मात्र भएको बताएका छन् ।

पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापतिज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ उनले सरकार र नेकपाका नेतालाई  देउवाको भनाइमा जवाफ दिनतिर नलागेर भारतसँग छिटो वार्ता गर्न सुझाए ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन छिटो पहल गर्न भनेको स्मरण गर्दै शर्माले भने, ‘सरकारले देउवालाई जवाफ दिइरहनु आवश्यक छैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’

सबै दलले पटक पटक भारतसँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका उब्जिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।

७ मंसिरमा कास्की क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेर नै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए ।

देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए ।

घरबाट निस्कँदा छोरीले देशको नक्सा बदलिएको भनेर आफूलाई सोधेको स्मरण गर्दै कांग्रेस प्रवक्ता शर्माले अहिले धेरै छोरीहरूको मनमा त्यस्तो जिज्ञासा रहेको बताए । उनले सरकारले ३ दिनमा देशको नक्सा छापेर सार्वजनिक गर्नुपर्ने बताउँदै सरकारले नसके त्यो काम गर्न कांग्रेस तयार रहेको बताए ।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।

 

Logo