केन्द्रबिन्दु बुलेटिन : सरकारले सर्वसाधारणलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकारले सर्वसाधारणलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये प्रतिनिधीसभा विगठनको घोषणासँगै असन्तुष्ट पक्षिय मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ केही नयाँ अनुहारलाई जिम्मेवारी दिनुका साथै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर समेत गरेका थिए । ती मन्त्रीहरूले आज मन्त्रालयमा उपस्थित भई पदभार ग्रहण गर्नुका साथै मन्त्रालयका कामकाजका बारेमा जानकारी पनि लिएका छन् । यसैक्रममा केही मन्त्रीले एमसीसीको पक्षमा सम्बोधन गरेका छन्, भने निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने उद्घोष पनि भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताएका छन् । जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराइले सरकारको असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि ढुलमुले चरित्र देखाईरहेको आरोप लगाएका छन् ।

जयनगर–कुर्था रेलमार्ग सरकारले तत्काले सञ्चालनमा ल्याउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार रेल सेवा माघभित्र सञ्चालन गर्ने सरकारको तयारी छ । रेल्वे कम्पनीका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालनमा ल्याइने छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गराएको छ । राईका विरुद्ध उक्त समूहले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव पनि गरेको छ । सभामुखबाहेक प्रदेशसभामा नेकपाका ६६ सांसद छन्। तीमध्ये प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले ३७ जनाको हस्ताक्षर संसदीय दलका उपनेतालाई बुझाएका हुन् ।

चीन सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा स्थापित हुने एक अध्ययनले देखाएको छ । यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनका अनुसार सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको देश बन्नुका साथै सन् २०२८ सम्ममा अमेरिकाभन्दा ठूलो अर्थतन्त्रयुक्त मुलुक बन्ने देखिएको हो । यस्तो हुनुमा विशेष गरेर कोरोना भाइरसका विरुद्ध चीनले चालेको कडा प्रावधानलाई प्रमुख मानिएको छ ।

 

Logo