बागमती प्रदेशसभा बैठक तत्काल बोलाउन सभामुखसँग माग

बागमती प्रदेशसभा बैठक तत्काल बोलाउन सभामुखसँग माग

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।

सोमबार बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । बैठक तत्काल बोलाउन भन्दै नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको उक्त समूहको आरोप छ । नाराबाजीअघि नेकपा दाहाल–नेपाल समूहको संसदीय दलले पत्रकार सम्मेलन गरी बैठक स्थगनको विरोध गरेको थियो । पत्रकार सम्मेलनमा अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको आरोप लगाइन् ।

प्रदेशसभा सदस्य शाक्यले सबै सदस्य बैठकमा भाग लिन हेटौँडा आइसकेपछि राति विद्युतीय सूचना जारी गर्दै बैठक स्थगनको सूचना आउनु विधि र पद्धति विपरीत भएको जनाउँदै सभामुखलाई उक्त निर्णय फिर्ता लिँदै बैठक राख्नुपर्ने माग राखिन् । उनले भने, “दलको छलफलविना यसरी बैठक सारिनु गलत छ । तसर्थ सभामुखले तत्काल बैठक आह्वान गर्नुपर्छ ।” उनले बैठक तत्काल बोलाउन पाउने अधिकार सभामुखमा सुरक्षित रहेको जनाउँदै सभामुख सबैको साझा भएकाले सबैसँग छलफल गरेर निर्णय लिनुपर्ने बताइन् ।

निवर्तमानमन्त्री शालिकराम जम्कट्टेलले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नबसी बैठक स्थगन भएकामा अपत्ति जनाए । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव छलफलका लागि पेश भइसकेकाले तत्काल बैठक राखेर उक्त प्रक्रिया अगाडि बढाइनुपर्ने बताए ।

एक दिनअघि प्रदेशसभाले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गरिएको जनाएको थियो । प्रदेशसभाको अर्को बैठक सभामुख श्रेष्ठले सोमबार अपराह्न २ बजे बस्ने गरी स्थगन गरेका थिए । प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले गर्दा आगामी फागुन ५ गते अपराह्न २ बजेका लागि सरेको छ ।

यता उपसभामुख राधिका तामाङले बैठक स्थगन गर्नेबारे आफूलाई पूर्वजानकारी नभएको बताइन् । बैठक स्थगनको खबरबारे आफू बेखबर रहेको उनले जानकारी दिएकी हुन् ।

Logo