तस्बिरमा हेर्नुहोस् कांग्रेसको चियापान कार्यक्रम

तस्बिरमा हेर्नुहोस् कांग्रेसको चियापान कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको भीड लागेका थियो ।

आमन्त्रितलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत नेताले उभिएर स्वागत गरेका थिए ।

चियापानकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा पार्टी केन्द्रीय कार्यालय सानेपामा रक्तदान समेत भएको थियो । चियापान बेलुकी ५ बजेसम्म जारी रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा झण्डासहित सजिसजाउ गरिएको थियो । उपस्थितले शुभकामना आदानप्रदान गर्दै चियापान गरेका थिए । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उनलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउथे तर तत्कालीन शासकका गुप्तचरले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गरेको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता थियो ।

काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको हो । सिन्धुपाल्चोकमा शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टीले जनाएको छ ।

Logo