काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति सार्वजनिक भएको छ । असोज २५ गते अर्थात आगामी शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति भण्डारीले सी र चिनियाँ टोलीको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय औपचारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुनेछ । सम्झौताबारे नेपाली र चिनियाँ अधिकारी दुवै मौन छन् ।
नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।
सन् २०१३ मा चीनका राष्ट्रपति बनेका सी राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका हुन्। उनको भ्रमणको तयारीका लागि एक महिनाअघि विदेश मन्त्री वाङ यी काठमाडौं आएका थिए। सी भ्रमणको पूर्व तयारीमा नेपालले काठमाडौंलाई सिंगारेको छ । काठमाडौंका सडकको सरसफाइ गर्नुका सँगै सिगारपटार गरिएको हो ।
सी ले आफ्नै सुरक्षाकर्मी ल्याउनेः
दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालले तयारी तीब्र पारेको छ । सडकको सरसफाइ गर्नुका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्नेछ । यो तहको सुरक्षा व्यवस्था अन्तर्गत बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डो हुनेछ ।
यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।
नेपालभन्दा पहिला भारतको भ्रमणः
यसअघि सी भारतको दुई दिने भ्रमणमा जानेछन् । असोज २४ मा भारतको भ्रमणमा गर्ने चिनियाँ राष्ट्रपति २५ गते भारतको चेन्नाईबाट काठमाडौं आउने कार्यक्रम रहेको हो ।
भारत भ्रमणका क्रममा राष्ट्रपति सीले भारतीय प्रधानमन्त्रीसँग ममल्लापुरमा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको ममल्लापुरमा मोदीसंगै सी सांस्कृतिक कार्यक्रममा समेत सहभागित हुनेछन् ।
राष्ट्रपति सीले भारत भ्रमणका क्रममा उनले मोदीसँग इण्डो प्यासेफिक स्टाटेजी र क्वाडमा भारतको भूमिकाबारे छलफल गर्नेछन् । चीनले कश्मिर प्रकरणलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गर्न भुमिका खेलेसँगै भारतले समेत क्वाडलाई प्राथमिकतामा राखेको छ ।
यसअघि सहसचिवस्तरीय हुने क्वाडमा यसपटकबाट विदेशमन्त्रीस्तरीय बैठक हुन थालेको छ । न्युयोर्कमा केही साता अघि पहिलो पटक विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक बसेको थियो ।





























प्रतिक्रिया