प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही हुने

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गर्ने भएको छ ।

नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधी सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको र लगत्तै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि बसेको स्थायी कमिटी बैठकले ओलीले दुई पार्टीको ऐतिहासिक एकता, पार्टीमाथि जनताले गरेको विश्वास र भरोसामाथि प्रहार गरी देश, पार्टी र जनताको भविष्यलाई अन्धकारतिर धकेलेको ठहर गर्दै अनुशासनको कारबाही गर्न आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने ‘प्रधानमन्त्रीले स्वेच्छाचारी किसिमले हठात प्रतिनिधि सभाको विघटन गरी नेपाली जनतालाई कठोर र बलिदानीपूर्ण संघर्षबाट स्थापित जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने प्रतिनिधी सभामाथि निर्मम प्रहार गर्नु भएको छ । पार्टी स्थायी कमिटी बैठक जारी रहेको र संसदको अधिवेशन बोलाउने बेला दुई ठुला पार्टीको ऐतिहासिक एकता, पार्टी माथि जनताले गरेको विश्वास र भरोसामाथि प्रहार गर्दै देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने, नेपालको संविधानलाई असफल पार्ने कुकृत्य गर्नु भएको छ । जनता, देश र पार्टीमाथि गर्नुभएको विश्वासघात र प्रहार नेकपाको विधानका विभिन्न प्रावधान विरुद्ध भएकाले उहाँमा अनुशासनको कारबाही गर्न केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव लैजाने निर्णय गर्दछ ।’

त्यसैगरी बैठकले प्रधानमन्त्रीले गरेको प्रतिनिधी सभा विघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश तथा पश्चगामीको संज्ञा दिएको छ । उक्त प्रस्ताव राजनीतिक स्थिरता, जनादेश र जनभावना विपरित स्वेच्छाचारी कदम ठहर गर्दै पार्टीले तिव्र विरोध एवम् भर्त्सना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम राष्ट्रपतिले स्वीकार गर्नु आपत्तिजनक रहेको पनि नेकपाले जनाएको छ । नेकपाले प्रधानमन्त्रीको यस कदम पूर्ण रुपमा अस्विकार गर्ने जनाएको छ । त्यसैगरी बैठकले स्थायी कमिटीको एक रिक्त ठाउँमा नेता कृष्णबहादुर महरालाई नियुक्त गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ । केन्द्रीय कमिटीको बैठक पुष ७ गते काठमाडौँमा बोलाईएको प्रवक्ता श्रेष्ठले बताए ।

Logo