उपप्रधानमन्त्री खड्कासँग नौसेनाध्यक्ष एक्विलिनोले गरे शिष्टाचार भेट

उपप्रधानमन्त्री खड्कासँग नौसेनाध्यक्ष एक्विलिनोले गरे शिष्टाचार भेट

केन्द्रबिन्दु
126
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् । आइतबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर शिष्टाचार भेटघाट गरेका हुन् ।

सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सौहार्दपूर्ण रहँदै आएको विषय उल्लेख गरे । नेपालको विकास निर्माण लगायतका क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगको स्तर वृद्धि हुने विश्वास व्यक्त गरे ।

विश्व शान्तिको लागि नेपालले संयुक्त राष्ट्र संघीय मिसनहरूमा शान्ति सैनिक खटाउने लगायत महत्त्वपूर्ण योगदान गर्दै आएको र भविष्यमा समेत अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्व शान्ति र सद्‍भावको लागि नेपाल सदैव प्रतिबद्ध रहेको समेत उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा शान्ति सैनिक खटाउने मुलुकमध्ये हाल नेपाल पहिलो स्थानमा रहेको साथै महिला शान्ति सैनिक खटाउने मुलुकहरूमा समेत लामो समयदेखि पहिलो स्थानमा रहेको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको बताए ।

उनले संयुक्त राष्ट्र संघको शान्ति मिसनहरूमा थप नेतृत्वदायी भूमिका प्राप्त गर्नको लागि नेपालले अमेरिकी सरकारको तर्फबाट सहयोगको अपेक्षा राखेको कुरा बताए । साथै, उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भौतिक स्तरोन्नतिमा अमेरिकी सरकारको तर्फबाट भएको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै उक्त केन्द्रबाट संयुक्त राष्ट्र संघीय शान्ति मिसनको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्ने बताए ।

भेटवार्ताको क्रममा नौसेनाध्यक्ष एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर रूपमा रहने र भविष्यमा थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिलगायतका कार्यक्रमहरूमा निरन्तर समन्वय र सहकार्यमा अमेरिकी सरकार सकारात्मक रहेको कुरा व्यक्त गरे । साथै, उनले अन्तर्राष्ट्रिय शान्‍ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै महिला शान्ति सैनिक खटाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष उदाहरण प्रस्तुत गरेको विचार समेत व्यक्त गरे ।

नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप संयुक्त राष्ट्र संघीय मिसनहरूका नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सदैव सहयोग र सद्‍भाव रहने विचार व्यक्त गरे ।

Logo