मन्त्री भएलगत्तै अमेरिका उड्दै भगवती चौधरी

मन्त्री भएलगत्तै अमेरिका उड्दै भगवती चौधरी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन्। ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।

सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ। शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसहितको ७ सदस्यीय टोली सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदैछन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीको भ्रमण स्वीकृत गरेको थियो।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ।

मन्त्री चौधरीले आफू विदेश भ्रमणमा लालायित भएको नभएर अघिल्लो मन्त्रिपरिषदबाटै कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्वीकृत भइसकेको अवस्थामा आफू त्यसतर्फ जान लागेको स्पष्ट पारेकी छिन्।

मन्त्री चौधरीले बुधबारमात्रै मन्त्रालयमा कार्यभार सम्हालेकी हुन्। त्यसअघि सुरेन्द्रराज आचार्य सो मन्त्रालयमा मन्त्री थिए। तत्कालिन गठबन्धन सरकार नढलेको भए मन्त्री आचार्य नै सो कार्यक्रममा सहभागी हुने तय गरिएको थियो।

Skip This
Skip This
Logo