आउँदो बैठकमा रविमाथि छानबिन गर्न समिति गठन होस्ः कांग्रेस

आउँदो बैठकमा रविमाथि छानबिन गर्न समिति गठन होस्ः कांग्रेस

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न पुनः माग गरेको छ। आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने बताइन्।

अन्यथा संसद अवरुद्ध हुने संकेत गर्दै उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरुलाई चाहिएको रहेनछ, उहाँहरुलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौं ।’

जीबी राई समूहले सञ्चालन गरेका सहकारी संस्थाहरुमा भएको अनियमिततालाई लिएर लामिछानेमाथि पनि प्रश्न उठ्दै आएको छ । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुपि्रम लगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम अनियमितता गर्दै ग्यालेक्सी टीभीमा समेत खर्च गरेको पाइएको छ ।

राजनीतिमा आउनुअघि ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक रहेका रवि लामिछानेका नाममा समेत रकम निकालेको देखिएपछि उनमाथि निरन्तर प्रश्न उठ्दै आएको छ । कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने र लामिछानेले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

Logo