जनताले अनुभूति गर्नेगरी काम हुनेछः उपप्रधानमन्त्री महासेठ

जनताले अनुभूति गर्नेगरी काम हुनेछः उपप्रधानमन्त्री महासेठ

केन्द्रबिन्दु
42
Shares

राँझा (बाँके)। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनताले अनुभूति गर्नेगरी काम गरिने बताएका छन्। नेपालगञ्जमा बुधबार आयोजित मन्त्रालय मातहतका विभिन्न कार्यालयको वार्षिक गोष्ठीमा उनले तोकिएको समयमा काम सम्पन्न गर्ने र निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिएका हुन्।

कानूनविपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न आग्रह गर्दै उपप्रधानमन्त्री महासेठले विभिन्न आयोजनामा भइरहेका ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताए।

“सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेकाले निर्माण कार्यमा ढिलाइ नहोस् भन्ने चाहेको छ”, उपप्रधानमन्त्री महासेठले भने, “आर्थिक विकास र समृद्धिका लागि केही व्यक्ति धनी हुँदैमा देशको समग्र विकास हुँदैन। त्यसैले आर्थिक विकासमा सबैको योगदान आवश्यक छ।”

लुम्बिनीको प्यूठान, दाङ, बाँके र कर्णाली तथा सुदूरपश्चिम प्रदेशस्थित मन्त्रालय मातहतका विभिन्न आयोजना र कार्यालयका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री महासेठले निर्धक्कसँग काम गर्न कर्मचारीलाई आग्रह गरे।

कार्यक्रममा सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि सडक मर्मतसम्भारको बजेटको योजना तयारी र हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको बताए।

यसैबीच उपप्रधानमन्त्री महासेठसँग बाँकेमा अधेरै रहेका सडकको निर्माण थाल्न नेकपा (एमाले) बाँकेले माग गरेको छ। बाँकेको खजुरामा करिब दुई किलोमिटर लामो चार लेन सडक ६ वर्षमा पनि निर्माण पूरा नभएको र परस्पुर–गौघाट सडकखण्डको समयावधि सम्पन्न हुने अवस्थामा निर्माणको काम सुस्त रहेकाले उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

Logo