हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेले थाले छलफल

हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेले थाले छलफल

केन्द्रबिन्दु
196
Shares

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बाेलाएर गृहमन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न सुझाव मागेका हुन् । छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे । यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्नेछ।

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए । छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरु डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी थिए। नेपालमा विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरू प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौं घटनाहरू हुँदै आएका छन् । प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक अस्पतालको सुविधासम्पन्न क्याबिनमा बसेपछि यसको आलोचना भइरहेको छ । हालै मात्र सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि अस्पताल भर्ना भएका थिए ।

Logo