तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको होः अध्यक्ष दाहाल

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको होः अध्यक्ष दाहाल

केन्द्रबिन्दु
24
Shares

चितवन। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको भएको बताएका छन्। आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रिय सभाले काम गर्ने उल्लेख गरेका हुन्।

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रिय सभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ। त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए।

हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रिय सभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए। उनले भने, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु।”

तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रिय सभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए। राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उहाँले अझै पनि राष्ट्रिय सभाको महत्व धेरैले बुझ्न नसकेको बताए।

राष्ट्रिय सभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले भने, “राष्ट्रिय सभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ”, राष्ट्रिय सभामा आउने विधेयक लामो समय नरोकिने पनि उनले स्पष्ट पारे।

विगत ६ वर्षको अवधिमा राष्ट्रिय सभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताए।

राष्ट्रिय सभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो। राष्ट्रिय सभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उनले बताए।

Skip This
Skip This
Logo