यी हुन् मन्त्रिपरिषद्‍का निर्णयहरू

यी हुन् मन्त्रिपरिषद्‍का निर्णयहरू

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गरिएको छ। शुक्रबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

यी हुन् मन्त्रिपरिषदका निर्णयहरू :
-नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने।

-आर्थिक वर्ष २०८१/०८२ लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्साबमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रुपैयाँ, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने।

-चालु आर्थिक वर्ष २०८०/०८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २७ सय ७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने। साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलको आधारमा न्यूनतम सामर्थन मूल्य कायम गर्ने।

-विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृत दिने।

-नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने।

-नेपाल स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गर्ने।

-तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गर्ने।

-नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने।

Logo