रेशम र रञ्जिताको घरझगडा प्रधानमन्त्रीको टाउकोमा, रवि लामिछानेले कांग्रेसलाई दिए यस्तो जवाफ[भिडियाेसहित]

रेशम र रञ्जिताको घरझगडा प्रधानमन्त्रीको टाउकोमा, रवि लामिछानेले कांग्रेसलाई दिए यस्तो जवाफ[भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

गृहमन्त्री लामिछानेलाई रोष्टममा जान दिन्नौंः नेपाली कांग्रेस
सहकारी अनियमिततामा संलग्न रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको कांग्रेसले संसद अवरुद्ध नगर्ने, तर गृहमन्त्रीलाई रोष्टममा जान नदिने रणनीति लिए पछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले संसदमा उठेका विषयमा जवाफ दिन पाउनुपर्ने बताएका छन् । आफूमाथि उठेका विषयमा समेत जवाफ दिदै उनले भनेका छन्, ‘जाहेरी भनेको त एउटा सूचना हो । सूचनाले प्रमाण पायो भने एउटा प्रक्रियामा जाने हो । सूचनाकै आधारमा संसदमा छानबिन गर्ने अभ्यास थाल्ने हो भने त्यसमा छलफल गरौंला ।’ आज सहकारी प्रकरणमा कांग्रेसले श्रममन्त्री डिपी अर्याल पनि मुछिएकाले छानबिन हुनुपर्ने माग गरेको थियो ।

नाउपाको विवाद मिलाउन प्रधानमन्त्री ‘प्रचण्ड’ले पहल गरे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीको विवाद मिलाउन पहल लिएका छन् । उनले मंगलबार अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन तर, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा उसकै खाँचो छ । त्यसकारण पनि नाउपा विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न प्रधानमन्त्री प्रचण्डले पहल लिएका हुन् । अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । उनीहरु पतिरपत्नी पनि हुन् ।

व्यापारी श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार अभियुक्त कालीबहादुर खाम पक्राउ
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग राख्दै मेयर हर्क साम्पाङ सडकमा
धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग समेत राखेका छन् । ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा उक्रिएका छन् ।

कर्णाली मुख्यमन्त्री शर्माले विश्वासको मत लिन अस्विकार गरे
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिन अस्विकार गरेका छन् । मुख्यमन्त्री शर्माको पत्रको आधारमा मंगलबार तय भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । विशेष कारणवश आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधवारका लागि सार्न आफूले पत्राचार गरेको उनले बताएका छन् । सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ ।

डीएसपी कुँवर माथी अन्याय भएको भन्दै गृह मन्त्रालय पुगे
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका तत्कालीन डीएसपी रुगम कुँवर आफूमाथि अन्याय भएको भन्दै गृह मन्त्रालय पुगेका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले उनलाई अनुसन्धानमा प्रभाव पारेको भन्दै विभागीय कारबाही सिफारिस गरेको थियो । तर, डीएसपी कुँवरले भने आफू सुन तस्करीको अनुसन्धानमै नरहेको जिकिर गर्दै गृह पुगेका हुन् । आयोगले गलत सूचना र बिनाप्रमाण विभागीय कारबाही सिफारिस गरेको भन्दै उनले प्रतिवेदन पुनर्विचारको मागसहित गएको आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष निवेदन दिएका छन् ।

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखियाे
यातायात व्यवस्था विभागले लाइसेन्स छपाइमा प्रयोग गरिरहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ। यसअघि एक लाखभन्दा बढी नक्कली लाइसेन्स प्रिन्ट भएको देखाएपछि प्रणालीमा नै समस्या रहेको औंल्याइएको थियो। त्यसपछि प्रधानमन्त्री कार्यालयको सचिवस्तरीय निर्णयबाट सूचना प्रविधि विभागले प्रणालीको परीक्षण गर्दा प्रणालीमा दर्जन बढी त्रुटि देखिएका हुन्। हाल विभागले स्मार्ट लाइसेन्स जारी गर्न प्रयोग गरिरहेको सवारी चालक अनुमतिपत्र प्रणालीलाई ३० वटाभन्दा बढी तरिकाले ह्याक गर्न सकिने सूचना प्रविधि विभागले गरेको प्रणाली परीक्षणले देखाएको छ।

नेपाल वायुसेवा निगमले क्यानलाई स्पष्टीकरण बुझायो
नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको हो ।

चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.३ प्रतिशत वृद्धि हुनेः विश्व बैङ्क
विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ । पाँच महिनाअघि बैङ्कले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैङ्कले उक्त प्रक्षेपण गरेको हो ।

मंगलबार शेयर बजार सामान्य अङ्कले गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

युक्रेनको तातारस्तानमा ड्रोन आक्रमण
युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ । तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो । विज्ञप्तिमा भनिए अनुसार आक्रमणबाट गम्भीर क्षति नभएको र कारखानाको काम समेत प्रभावित नभएको तर येलाबुगामा मानिसहरू घाइते भएको जनाइएको छ ।

Logo