काठमाडौं । आज विभिन्न सात संसदीय समितिहरूको बैठक बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान ११ बजे बोलाइएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे, सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिले २ बजे बैठक राखेका छन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ । अर्थ समितिको आजको बैठकमा उजुरी छानविन उपसमितिमा हालसम्म भएका काम कारवाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेकाा काम कारबाहीका बारेमा छलफल हुदैछ । सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रीत छलफल गर्दैछ । समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने तयारी छ ।
त्यस्तै, महिला तथा सामाजिक समितिमा पनि हिंसा सँग सम्बन्धित दुई महत्वपूर्ण विषयमा छलफल हुदैछ । समितिले मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी दुई विषयमा छलफल गर्न लागेको जनाएको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने तयारी छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४ औँ बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयन लगायतका विषयमा छलफल हुँदैछ ।
प्रतिक्रिया