बालेन शाहमाथि एक अर्ब भ्रष्टाचारको आरोप, रविमाथि प्रश्न उठाउँदा कांग्रेस र स्वर्णिम वाग्लेबीच जुहारी[भिडियाेसहित]

बालेन शाहमाथि एक अर्ब भ्रष्टाचारको आरोप, रविमाथि प्रश्न उठाउँदा कांग्रेस र स्वर्णिम वाग्लेबीच जुहारी[भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

नेपाली कांग्रेसले बुधबार पनि माग्यो गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिको छानबिन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समितिको मागलाई निरन्तरता दिएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले समिति बनाउनका लागि दिइएको ’अल्टिमेटम’ आज सकिएको बताउँदै सरकारले बलजफ्ती गरे बैठक चल्न नदिने चेतावनी समेत दिए । जिबी राईलाई गृहमन्त्री लामिछानेले नै लुकाएको उनको आरोप छ । त्यसपछि रास्वपाका सांसद स्वर्णिम वाग्लेले कांग्रेसले सत्ताबाट बाहिरिनु पर्दाको प्रतिसोध गृहमन्त्रीमाथि साँधेको र ऐन अनुसार नै छानबीन गर्न चुनौती दिएपछि संसदको माहोल केहीबेर रोचक बनेकाो थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । उनले भने( ‘पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहिरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय गरेको कुरा जानकारी गराउँदछु ।’ फेरिएको सत्ता समिकरणमा मुख्यमन्त्री एमालेले पाउने सहमति भएको छ । तीन दिन बित्न लाग्दासमेत शीर्ष तहको निर्णय मान्न उनी तयार देखिएका थिएनन् । तर, अन्ततः उनी सहमत भए ।

भर्ना प्रक्रिया नै रोकिदिने चेतावनीसहित काठमाडौं महानगरले दियो निजी विद्यालयलाई ७ दिन अल्टिमेटम
बुधबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ । महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो ।

प्रधानमन्त्री‘प्रचण्ड’ले राष्ट्रपति पौडेल समक्ष बुझाए आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गरेका छन । बुधबार गतआर्थिक वर्षको वार्षिक प्रतिवदन पेस गर्दै प्रधानमन्त्री प्रचण्डले गत आर्थिक वर्षमा सरकार श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती शोषणको चक्रअन्त्य गर्न सरकारले सफल रहेको दाबी गर्दै सुशासनका कयौं मानकहरू स्थापित गर्न सफल भएको बताएका छन् ।

मेयर शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँने कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा हाले
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ । साइबर अर्थात् विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिएका छन् ।

गण्डकी मुख्यमन्त्री भट्टले सरकार गठनको आह्वान गरे
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन उनले बुधबार आह्वान गरेका हुन् । अब दलहरुले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै राजीनामा बुझाएका थिए ।

व्यवसायीको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका कालीबहादुर खामलाई चितवन जिल्ला अदालत पठाईयो
व्यवसायीको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादी पूर्वलडाकु कालीबहादुर खामलाई चितवन जिल्ला अदालत पठाइएको छ । मंगलबार काठमाडौंबाट पक्राउ परेका पूर्वी रुकुमका ५० वर्षीय खामलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवन पठाएको थियो । चितवन प्रहरीले बुधबार नै खामलाई जिल्ला अदालत पठाएको हो । अदालतमा खामको बयान लिइएको छ ।

बुधबार सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गर्यो
बुधबार सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो । मंगलबार तोलामा एक लाख ३१ हजार दुई सय निर्धारण भएको थियो ।

वैवाहिक बलात्कार आरोपमा निलम्बित जिल्ला न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चले दियो आदेश
वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् ।

बुधबार नेप्समा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

ताइवानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो
बुधबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवानको दमकल विभागका अनुसार १० जनाको मृत्यु भएको छ भने ८०० बढी घाइते भएका छन् । मौसम विभागका अनुसार पूर्वी ताइवानको हुआलियन सहरमा भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।

नेपाल ‘ए’ टिम पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’सँग २१ रनले पराजित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ‘ए’ टिम पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’सँग २१ रनले पराजित भएकोे छ । आयरल्याण्ड ‘ए’ले जितका लागि दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको हो । नेपालका लागि शाहव आलमले ३७ रनको सर्वाधिक इनिङ खेले पनि नेपालको जितका लागि पर्याप्त भएन । उनी आउट भएपछि नेपाल हारतिर मोडियो । खराव सुरुवात गरेको नेपालका लागि भरपर्दा अनुभवी व्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएपछि नेपालले समान्य लक्ष्य पनि भेट्न नसकेको हो ।

Logo