इद पर्वले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछः उपराष्ट्रपति यादव

इद पर्वले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछः उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देश– विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना
गरेका छन्।

इदका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा यस्ता पर्वले आपसी एकता एवं सद्भाव बढाउने बताएका हुन्।

उपराष्ट्रपति यादवले सन्देशमा विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो भन्दै देशमा मनाइने यी र यस्ता पर्वले समुदाय, समाजमा भ्रातृत्व, मेलमिलाप तथा अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

खुसी, भ्रातृत्व, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको इद–उल–फित्रले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिएको बताउँदै उनले गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने तथा जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउने सन्देशमा उल्लेख गरेका हुन्।

“इद–उल–फित्रले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत समाज निर्माणमा प्रेरणा प्रदान गर्न सकोस्। लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन यो पर्वले प्रेरित गर्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उनले भनेका छन्।

इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास पूरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँछन्। रमजानलाई अल्लाहको रहमत महिनाको रुपमा पनि चिनिन्छ। रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ।

रमजानमा मुस्लिम समुदाय मन र शरीरका लागि अशुद्ध मानिएका वस्तुहरुबाट टाढा बस्ने दृढ प्रयास गर्छन्। नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै बधाई, शुभकामना र उपहार साटासाट गरी मनाइने ‘इद–उल–फित्र’ का दिन विशेष परिकार बनाएर खाने र खुवाउने चलन छ। इदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘इद मुबारक’ भन्ने रीति छ। साथै मानिसहरु आफ्नो श्रद्धाअनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि छ।

Skip This
Skip This
Logo