कोशीमा विश्वासको संकट, संसदमा संकल्प दर्ता हुँदै

कोशीमा विश्वासको संकट, संसदमा संकल्प दर्ता हुँदै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राजनीतिक दबाब बढाउँदै लगेका एमाले र माओवादी केन्द्रले आज (बिहीबार) संकल्प प्रस्ताव पेस गर्दै छन्।

केन्द्र सरकारमा गठबन्धन गरेका एमाले र माओवादीले पुरानो गठबन्धनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि राजीनामा गराउन भनेर दबाब बढाईरहेका छन्।

आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा उनीहरुले त्यही उद्धेश्यका लागि संकल्प प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। आज प्रस्तुत हुने प्रस्ताव भोलि शुक्रबार छलफलमा पेश गरिने भएको छ।

संघको गठबन्धन फेरिएपछि कोशी लगायतका सबैजसो प्रदेशको समीकरणमा हलचल आईरहेको छ। मुख्य दलहरुले संघकै सहमति अनुसार प्रदेशहरुमा पनि सत्तामा भागबण्डा गर्न प्रयास गरिरहेका छन्।

कोशीमा नेपाली कांग्रेस सरकारमा भएपनि प्राविधिक रुपमा बहुमतमा र राजनीतिक रुपमा अल्पमतमा देखिन्छ। संकल्प प्रस्ताव दर्ता भएर छलफल सुरु भएपछि कांग्रेसले आफ्नो रणनीतिक चाल चल्नथाल्ने बुझिएको छ।

प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्रालयको नेतृत्व गरिरहेका प्रवक्ता शमशेर राईले संसदको प्रक्रिया अगाडि बढेपछिको अवस्थालाई समीक्षा गरेर आवश्यक कदम चालिने बताए।

एमालेले भने कोशीको राजनीतिलाई प्रतिष्ठाको प्रश्न बनाएको देखिन्छ। यसअघि एमालेकै नेताहरुले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। तर कांग्रेस र माओवादीको गठबन्धन बनेपछि एमाले सत्ताबाट हात धुन वाध्य भएको थियो।

अहिले माओवादीसँग सरकारमा सहकार्य सुरु भएपछिको अवसर उपयोग गर्दै कोशीको सत्ता फेरि आफ्नै हातमा फर्काउन एमाले सक्रिय देखिएको छ।

माओवादी भने विगतमा कांग्रेसले धोका दिँदा आफ्नो अवस्था खस्किएको ठान्दै यसपटका मुख्यमन्त्रीलाई सत्ताच्युत गराएर त्यसको बदला लिन एमालेसँग सहकार्य गरिरहेको देखिन्छ।

यसपटक मुख्यमन्त्री कार्कीले आफूहरुलाई चुनौति दिँदै राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिएको निष्कर्षमा पुगेका एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गर्न लागेका हुन्।

संकल्प प्रस्तावमा मुख्यमन्त्रीले यही वैशाख २५ भित्र राजीनामा दिएर विश्वासको मत लिनुपर्ने सर्त राख्दैँ अन्यथा मन्त्रिपरिषद्‍का कुनैपनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने प्रस्ताव गरिएको छ।

Logo