संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो: नेविसंघ सभापति शेर्पा

संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो: नेविसंघ सभापति शेर्पा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले संविधानमा उल्लेख भएका व्यवस्थाहरु कार्यान्वयनको पाटोमा भने अत्यन्तै फितलो भएको बताएका छन्।

काठमाडौंमा सोमबार नेविसंघद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिए पनि तीन तहमा नै कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको बताए।

उनले भने, ‘नेपालको संविधान समाजवादउन्मुख छ। नेपालको सार्वभौम संसदमा प्रतिनिधित्व गर्नुहुने ९५ प्रतिशतभन्दा बढी संघीय सांसदहरुले समाजवादलाई आफ्नो विधानमा अपनाएर समाजवादउन्मुख संविधान भनेर त्यही नारा लिएर जनताको सामु भोट माग्न जान्छौं। संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिएको छ। तर, चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ। आज व्यवस्था परिवर्तन त गरौं तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन।’

शिक्षा प्रणालीलाई ध्वस्त पार्यो भने त्यो देश आफै ध्वस्त हुने भनाइ चरितार्थ गर्ने गतिविधितर्फ मुलुक रहेको उनले दुखेसो गरे। मुलुकलाई भ्रष्टाचारमुक्त, सबैको विश्वास र आशाको केन्द्र बनाउन आवश्यक रहेको उनले बताए।

उनले भने,‘आज देशमा हामी सबैको चासो भनेको सुशासन हो। भ्रष्टाचारमुक्त समाज हामी सबैको एउटा विश्वास र आशाको केन्द्र बनोस् भन्ने अभिलाषा छ।’

सरकारले नेपाललाई एजुकेशन हब बनाउने भने तापनि नारा एकातिर तर व्यवहार अर्कोतिर भएको भनाइ उनले राखे।

Logo