ढुंगा–गिटी राम्रो आयस्रोत हो तर गृहमन्त्रीले रोकिदिए: नगरप्रमुख मर्हजन

ढुंगा–गिटी राम्रो आयस्रोत हो तर गृहमन्त्रीले रोकिदिए: नगरप्रमुख मर्हजन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा,गिटी उत्खननको मापद्दण्ड छिटो भन्दा छिटो बनाउनुपर्ने बताएका छन्।

महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा,गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए। उनले गोदावरी नगरपालिकाभित्र ढुंगा खानीको विषयमा गलत प्रचार प्रसार भएको पनि जिकिर गरे।

उनले भने, ‘हाम्रो आन्तरिक आयको मुख्य स्रोत ढुंगा–गिटी नै हो। भएको स्रोतलाई परिचालन गर्नैपर्छ। तर त्यसको व्यवस्थापन र मापद्दण्डलाई कायम गर्न सक्नुपर्छ।’

नगर प्रमुख महर्जनले आन्तरिक आय बढाउने स्रोत नै ढुंगा, गिटी र बालुवा उत्खनन् भइरहेकाले त्यसको सहजीकरणका लागि संघीय सरकारले कानूनी रुपमा खुला गरिदिन गृहमन्त्रीसँग अनुरोध गरे।

‘गोदावरी नगरपालिकाको विषयमा गलत प्रचार प्रसार भएको छ। त्यसमा मेरो आपत्ति छ। हामीकहाँ चारवटा ढुंगा खानी छन्। मिडियाले ४० वटाजति छन् भन्ने व्याख्या गरिदिन्छन्। क्रसरहरु आठदश वटा छन्। गृहमन्त्रीलाई म अनुरोध गर्न चाहन्छु, देशभरि मापद्दण्डको समस्या छ, उहाँले बनाइदिनु पर्यो,’ उनले थपे, ‘पहिलो पटक गृहमन्त्री हुँदा उहाँले रोक्नु भएको थियो। के कारणले बन्द भयो? के कारणले खुल्यो थाहा भएन। तर दोस्रो पटक गृहमन्त्री भएर आउँदा संघीय सरकारले व्यवस्थापन, मापद्दण्ड र नीति बनाउने भएकाले यसलाई छिटो भन्दा छिटो मापद्दण्ड कायम गरिदिनुप्यो। ’

गोदावरी नगरपालिका–७ देवीचौरमा राष्ट्रिय वन नै मासेर अवैध रुपमा खानी सञ्चालन हुँदै आएको छ। राष्ट्रिय वन अन्र्तगत पर्ने ३ सय ९४ रोपनी वन क्षेत्रमा अवैध रुपमा खानी सञ्चालन भैरहेको हो। त्यसको स्थानीय र सञ्चारमाध्यमले खवरदारी गरिरहँदा पनि मौन जस्तो बसेको स्थानीय सरकार उल्टै मापद्दण्ड र नीति बनाएर खानी सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ।

स्थानीय पूर्वजनप्रतिनिधिहरु नै गोदावरीको विभिन्न स्थानमा रहेको क्रसर तथा खानी सञ्चालनमा संलग्न रहेको, राष्ट्रिय वन नै मासेर अवैध उत्खनन् भइरहँदा पनि सरोकारवाला निकाय कारवाही गर्नेबारे मौन छ।

एक फरक प्रश्नमा नगरप्रमुख महर्जनले पूर्वाधार विकासको क्षेत्रमा नगरपालिकाले उत्कृष्ट काम गरेको दाबी गरे। पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर सडक, बाटो निर्माण गरेको बताएका उनले खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत आमुल परिवर्तन गरेको उल्लेख गरे।

‘जवसम्म पूर्वाधार राम्रो हुँदैन तवसम्म नगरको स्वरुपमा परिवर्तन हुन सक्दैन भनेर पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले विशेष बजेट छुट्यायौं। त्यही अनुसार पालिकाले नाका छिर्ने हरेक बाटो, सडक कालोपत्रे गरेको छ। चापागाउँ, थेचो, टीकाभैरव, गोदावरी–बाँणेगाउँको बाटो हामीले नै पहलकदमी लिएर निर्माण गर्यौं, अधिकांश क्षेत्रमा बाटो राम्रो भएको छ,’ महर्जनले भने।

उनले आफ्नो पहिलो कार्यकालमा भौतिक पूर्वाधारको विकास र दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

उनले नगरको विभिन्न वडाहरुमा खानेपानीको हाहाकारको अवस्थालाई सुधार गरेर ५,६ र ८ नम्बर वडामा समेत खानेपानीको ठूला परियोजना सञ्चालन गर्न लागेको जानकारी दिए। गोदावरी नगरपालिकालाई आगामी ५० वर्षसम्म खानेपानीको उपलब्धता गराउन सक्नगरी दीर्घकालीन योजन बनाएर काम गर्न लागेको जनाए।

नगरको मूख्य सडक सातदोवाटो–गोदावरी, सातदोवाटो–चापागाउँ सडकलाई अझै पूर्णता दिन किन नसकेको भन्ने प्रश्नमा महर्जनले भने,‘ विगतमा ति सडकमा हिलो र धुलो नै थियो। अहिले हिलो र धुलोलाई हटाएर कहीं ढलान कहीं कालोपत्रे हामीले नै गरेका हौं। मैंले आफ्नो दुई कार्यकालमा चाहेर पनि स्थानीय तहमा जिम्मेवारीमा नपरेका कारण यस्ता केही काम गर्न सकिन। क्षतिपूर्ति र मुआब्जा संघीय सरकारले नदिएसम्म बाटो विस्तारको कार्यलाई अगाडि बढाउनसक्ने अवस्था छैन। संघीय सरकारले जबसम्म प्राथमिकता दिँदैन तबसम्म बाटो विस्तार हुँदैन।’

Logo