सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ: सांसद शर्मा

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ: सांसद शर्मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देशको समृद्धिको मुख्य आधार निजी क्षेत्र हो भन्ने कुरालाई स्वीकार गरी सरकारले व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव रहेको बताए।

उनले भने, “बैंक तथा वित्तिय संस्थाको व्याजदर चर्को छ, अर्थतन्त्रमा देखिएको सङ्कटका कारण देशमा उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका छैनन् र यसको मार साना व्यवसायीहरुमा झन् बढी परेको छ भन्दै यस्तो अवस्थामा राजनीतिक दुरदर्शिता आवश्यक छ र सरकारले रातभर सुत्न नसकेका व्यवसायीहरुलाई सहुलियत पुग्नेगरी काम गरिदिनुपर्छ।”

नेपाली युवा विदेश पलायन भएको चर्चा हुने गरेपनि व्यवसायीहरुले आफ्ना व्यवसाय छोडेर विदेश पलायन हुनुपर्ने अवस्थाका बारेमा भने कुनै चर्चा नभएको उनको भनाइ छ। मेडिकल व्यवसायी रहनुभएका उgले गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा पनि जोड दिए।

उनले अहिले देशका व्यवसायीहरुमा छाएको निराशाको अन्त्य गरी उनीहरुलाई हौसला प्रदान गर्ने खालको व्यवसायमैत्री नीति अख्तियार नगर्ने हो भने मुलुकको अर्थतन्त्रमा झन् ठूलो समस्या उत्पन्न हुने पनि बताए।

Logo