संघीय कानूनले पूर्णता नपाउँदा संघीयताको अनुभूति भएन: नेता सिंह

संघीय कानूनले पूर्णता नपाउँदा संघीयताको अनुभूति भएन: नेता सिंह

केन्द्रबिन्दु
98
Shares

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको बताएका छन्।

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आज कौशलटारमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षेत्र एवं नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता स्व जगन्नाथ आचार्यको १०१औँ जन्मजयन्तीमा उनले लोकतन्त्र, सङ्घीय व्यवस्था र प्राप्त राजनीतिक उपलब्धिका विषयमा जनताले प्रश्न गर्न थालेको बताए।

नेता सिंहले भने, “लोकतान्त्रिक सङ्घीय व्यवस्थासहितको संविधान जारी भई दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन भए पनि अझै आवश्यक ऐन कानुन बन्न नसक्दा जनताले प्रश्न गर्न थालेका छन्, जनताले तीन तहको सरकारको अनुभूति गर्न पाएका छैनन्, केन्द्रिकृत एकात्मक व्यवस्था र सङ्घीयतामा फरक के हो ? खोई त ? भन्ने त आइरहेको छ नी, आठ वर्ष बितिसक्दा पनि आवश्यक सङ्घीय ऐन कानुन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन।”

उनले सङ्घीयताले पूर्ण नपाउँदै यसलाई जोगाउने चुनौती आइरहेको भन्दै नेपाली कांग्रेसले सङ्घर्षका लागिभन्दा सङ्घीयतालाई पूर्णता दिँदै यसको रक्षाका लागि लाग्नुपर्ने बताए।

उनले भक्तपुरमा सङ्घीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहमा विजयी भएका कांग्रेस नेताले विकासको काम गरेर जनतालाई देखाउनुपर्ने औँल्याउँदै अरुले गरिदेला भनेर नबसी आफैँ अग्रसर भएर काम गर्न आग्रह गरे।

Logo