मजदुरको अधिकार प्राप्तिका लागि कांग्रेस अहिलेपनि प्रतिबद्ध: सभापति देउवा

मजदुरको अधिकार प्राप्तिका लागि कांग्रेस अहिलेपनि प्रतिबद्ध: सभापति देउवा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस मदजुरको अधिकार प्राप्तिका लागि संघर्ष गर्न अहिलेपनि प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपालमा विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको स्मरण गरेका छन्। ‘आजपनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ। उहाँहरूको समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वद्र्धन गर्न तथा सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न नेपाली कांग्रेस क्रियाशील रहेको छ,’ देउवाको भनाइ छ।

सभापति देउवाले मे १ तारिखलाई मजदुर वर्गले संघर्ष गरेर प्राप्त गरेको ऐतिहासिक दिनकोरुपमा स्मरण गरेका छन्। ‘मे १ तारिख-मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन। सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलनको सफलताको स्मरण हो,’ सभापति देउवाले भनेका छन्,‘यो दिनलाई संसारभरिका मजदुरहरूले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउदै आएका छन्।’

विसं २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो। सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो।

सभापति देउवाले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान बिन्दु नै त्यहीँ मजदुर आन्दोलन रहेको बताएका छन्।

Logo