संघीय मामिलाका काम ओझेल परेः मन्त्री जोशी

संघीय मामिलाका काम ओझेल परेः मन्त्री जोशी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा संघीय मामिलाका काम ओझेलमा परिरहेको बताएका छन्।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले मन्त्रालयको मुख्य जिम्मेवारी संघीय मामिला र कर्मचारी व्यवस्थापन रहेकामा सङ्घीय मामिलाको काम ओझेलमा परेको महसुस भएको बताए। मन्त्री जोशीले भने,“मन्त्रालयले केन्द्रीय, प्रदेश र स्थानीय सरकारबीच सुशासनको व्यवस्थापन गर्नुपर्छ तर त्यहाँ कानुनको अभावमा अहिले समन्वयको चुनौति छ। त्यसैले प्रदेश र स्थानीय सरकारका कामकारवाहीलाई प्रभावकारी र व्यवस्थित गर्न अप्ठ्यारो महसुस भइरहेको छ।”

उनले अहिले धेरैजसो समय सङ्घीयताभन्दा सामान्य प्रशासनका लागि खर्च गर्न परिरहेको र मन्त्रालयको पूँजीगत खर्च अत्यन्त न्यून रहेकोबारे पनि बैठकलाई जानकारी गराए।

मन्त्रालय मातहत तराई–मधेश समृद्धि कार्यक्रम र नवप्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेका भए पनि ती कार्यक्रमका लागि विनियोजित बजेट हालसम्म निकासा नभएको सो अवसरमा जानकारी दिइयो। मन्त्री जोशीले बजेट निकासी व्यवस्थापनमा समितिबाट सहयोगको अपेक्षा रहेको बताए।

नेपाल सरकारका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थापनको जिम्मेवारी मन्त्रालयले गर्दै आएको छ।

Logo