कोशीको बागडोर तेस्रोपटक हिक्मत कार्कीकाे हातमा [भिडियाेसहित]

कोशीको बागडोर तेस्रोपटक हिक्मत कार्कीकाे हातमा [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेकपा एमाले र माओवादीका ५२ सांसदको समर्थनमा बिहीवार कार्कीले प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । त्यसलगत्तै कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो ।

उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका हुन् ।

छिटोछिटो सरकार बन्ने र ढल्ने क्रमले निरन्तरता पाइरहेको प्रदेशमा घुमीफिरी सत्ताको बागडोर एमाले नेता कार्कीकै हातमा आइपुगेको हो ।

प्रदेश सभाको दोस्रो कार्यकालको अहिलेसम्म कोशीमा ६ वटा सरकार बनिसकेका छन्। तीमध्ये तीन वटा सरकारको प्रमुख एमाले नेता कार्की नै बनेका छन्। प्रदेश संसदको एकै कार्यकालमा संविधानका तीन वटा धाराबाट मुख्यमन्त्री बनेको उपलब्धि साँच्न पाएका कार्की पहिलोपटक संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार प्रमुख बनेका थिए। दोस्रोपटक सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका उनी यसपटक उपधारा ५ अनुसार सत्तामा फर्किएका हुन्।

तेस्रोपटक सरकार प्रमुखको जिम्मेवारीमा पुगेका कार्कीले प्रदेश सरकारलाई स्थिर बनाउन प्रयास गर्ने प्रतिबद्धता गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत असोज २७ मा मुख्यमन्त्री नियुक्त केदार कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिन पूरा भएको, त्यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा वैशाख ७ मा प्रदेश सभाबाट पारित मुख्यमन्त्री विरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका थिए। सोहीअनुसार बिहीबारै बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हिक्मत कार्की मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । तर, मुख्यमन्त्री खोसिएपछि तत्कालिन मुख्यमन्त्री कार्की भने सर्वोच्च अदालत जाने तयारीमा छन्।

Skip This
Logo