काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ ।
सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो । अध्यक्ष यादवले सरकारमा रहेर सत्तासिन दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएकाले राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन । यद्यपी जसपाले सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिसकेको छैन । त्यसका लागि कार्यकारिणी समिति बैठक बसिराखेको र बैठकपछि निर्णय सुनाइने जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो । अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि अहिले प्रचण्ड सरकारमै छ । यसपटकका घटनाक्रमले पनि उपेन्द्रले सरकार छाड्न नचाहेको तर, प्रधानमन्त्रीले उनलाई धकेलेको टिप्पणी हुन थालेको छ । यो दाबीलाई आजको उनको बोलीले पनि मदत पुर्याएको छ ।
पदबाट राजीनामा दिएलगत्तै अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेपछि आफूलाई सरकारमा बस्न मन नलागेको बताएका छन्। ‘प्रधानमन्त्रीसँग कुरा गरेपछि सरकारमा बस्न मन लागेन, अहिले राजीनामा नै गर्दा नै उचित हुन्छ भनेर राजीनामा दिएको हुँ’ उनले भनेका छन् ।
तर, अनौठो के छ भने, खुला राजनीतिको डेढ दशकमा प्रचण्डसँग उपेन्द्रको सधैँ निकट सम्बन्ध रह्यो । कतिपय राजनीतिक मुद्दामा उनीहरू एक ठाउँ उभिए । अहिले पनि उनीहरूका घोषणापत्रमा कतिपय विषयमा समानता भेटिन्छ । पार्टीभित्रको आलोचना सहँदै उनले गठबन्धन निर्माणका लागि हस्ताक्षर गरेका थिए । तर, पछिल्लो गठबन्धन निर्माण भएको दुई महिनामै उनी ओली प्रचण्डबाट टाढिएका हुन् ।
यसैबीच, अब मधेस प्रदेशमा पनि जसपा नेपालको सरकार ढल्ने निश्चित भएको छ । मधेस प्रदेशको आगामी सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ गठबन्धन निर्माण गरेका छन् । यी दलको सांसद संख्याले मधेसमा सहजै बहुमत पुग्छ । तसर्थ, अब मुख्यमन्त्री सरोजकुमार यादवको बहिर्गमन निश्चितप्रायः भएको हो ।































प्रतिक्रिया