वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध, आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएको नेपाल–भारत सम्बन्धका विशेषता भएको बताएका छन्।

परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलाको मङ्गलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए।

नेपाल–भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, “तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ। यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ।”

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए। उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए।

Logo