निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः शशाङ्क कोइराला

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः शशाङ्क कोइराला

केन्द्रबिन्दु
28
Shares

नवलपुर (नवलपरासी) । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताएका हुन् । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु”, उनले भने ।

नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो ।

डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । “नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने ।

Logo