प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरुको नाराबाजीले प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
साेमबार बैठक सुरु भएलगत्तै उनीहरुले रोष्टम घेराउ गर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय समिति गठन गर, जबर्जस्ती गर्न पाईदैन’लगायत नारा लगाएका थिए । त्यसपछि पटकपटक सभामुख देवराज घिमिरेको आग्रहलाई नमानेपछि आजै बस्ने गरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
तर, बैठकमा सहकारी प्रकरणकाे विषय उठाउँदै कांग्रेसले अवराेध जनाएकाे हाे । करिब २ महिनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबार सहकारी प्रकरणमा आफ्नो संलग्नताबारे उठेको प्रश्नको जवाफ दिए पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले विरोध गरिरहेको हो ।





























प्रतिक्रिया