‘सरकारले देखाएको तानाशाही प्रवृतिविरुद्ध कांग्रेस एकजुट भएर आन्दोलनमा होमिनुपर्छ’ -आरजु राणा

‘सरकारले देखाएको तानाशाही प्रवृतिविरुद्ध कांग्रेस एकजुट भएर आन्दोलनमा होमिनुपर्छ’ -आरजु राणा

केन्द्रबिन्दु
756
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले वर्तमान सरकारले देखाएको तानाशाही प्रवृतिविरुद्ध पार्टीभित्र एकजुट हुन आवश्यक रहेको औंल्याएकी छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राणाले भनिन्, ‘पार्टीको एउटा नेतालाई कसैले आक्रमण गर्छ भने त्यसको विरुद्धमा सबै जना मिलेर प्रतिवाद गर्नुपर्नेमा काँग्रेसमा आफ्नै नेता कार्यकर्तालाई प्रहार गर्ने ट्रेण्ड बसेको छ, यसलाई अब निर्मुल गर्न आवश्यक छ ।’

यस्तै गठबन्धनको प्रमुख घटक नेकपा एमालेलाई उनले अरिगांलको गोलाको संज्ञा दिएकी छन् । ‘एमाले भनेको अरिंगालको गोला रहेछ । उनीहरुको नेतालाई कसैले केहि भन्यो भनें सबै मिलेर टोक्न आउँछन् । तर काँग्रेसमा एकले अर्कोलाई आक्षेप लगाउने बानी नै बसिसकेको छ ।’ उनले भनिन् । यसकै परिणाम संसदमा देशकै ठुलो पार्टीले विरोध गरिरहँदा सरकार एकतर्फी रुपमा अघि बढेको राणाको भनाई थियो ।

राणाले भनिन् ‘अब काँग्रेसले सोच्नुपर्ने बेला आएको छ ।’ दुई दिन रोष्ट्रम घेर्दा घेर्दै एकतर्फी ढंगले फटाफट सबै कुरा पास गराइयो, संसदले के पास ग-यो भन्ने सम्म थाहा नभएको राणाले बताइन् ।

आजको दिनमा काँग्रेसमा एकताको आवश्यक रहेको पनि राणाले उल्लेख गरिन् । सरकारको तानाशाही व्यवहारले काँग्रेस नेता कार्यकर्तालाई एकतावद्ध गरेकाले यो एकता कायम राख्नुपर्ने उनले बताइन् । अब पनि एक भएनौं भनें देशले पनि दुःख पाउँछ, नेतृ राणाको कथन थियो ।

उनले यो अवस्थामा राष्ट्रपतिले निर्णायक भुमिका खेल्न आवश्यक रहेको पनि औंल्याइन् । अघिल्लो राष्ट्रपति जस्तो लोकतन्त्र नै खतरामा पर्ने अवस्था नआओस् भनेर राष्ट्रपति रामचन्द्र पौडेललाई आवश्यक पर्दा भुमिका निर्वाह गरिदिनुस् भनेर आग्रह गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाई थियो । प्रजातन्त्रका निम्ति लामो समय संघर्ष गरेका राष्ट्रपतिले यो अवस्थालाई बुझेको हुनुपर्ने पनि उनको धारणा थियो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नु ट्रेलर मात्र भएकाले भोलिका दिनमा अरुमाथि पनि आक्रमण हुनसक्ने नेतृ राणाले औंल्याइन् । ‘अहिलेको आन्दोलन हाम्रो लागि चुनौतीका साथै निर्णायक हुनसक्छ । मुलुक र लोकतन्त्रको रक्षाका निम्ति योजनावद्ध ढंगले आन्दोलनमा जानु जरुरी भएको उनले बताइन् । साथै बिपी कोइराला, गणेशमान सिंहको पालादेखि निरन्तर आन्दोलन गर्दै आएको कांग्रेसले विगतको आन्दोलनको समिक्षा गर्दै आगामी रणनीति तय गर्नुपर्ने उनकाे भनाई छ ।

बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आइतबारबाट काठमाडौं केन्द्रीत संघर्ष गर्ने र सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन गर्दै जाने निर्णय गरेको छ ।

Logo