रास्वपा स्थापनाको दुई वर्ष पूरा, आज चियापानक कार्यक्रम

रास्वपा स्थापनाको दुई वर्ष पूरा, आज चियापानक कार्यक्रम

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पार्टी खुलेको छ महिना नबित्दै संसदमा चौँथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको छ। रास्वपाले पार्टीको दोश्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

दिवसको सन्दर्भमा दिउँसो ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार केन्द्रीय कमिटी बैठकमा स्थापना दिवसको सन्दर्भमा पार्टी निर्माणबारे गम्भीर आत्मसमीक्षा हुनेछ भने शुभकामना आदान प्रदान समेत हुनेछ।

रास्पवाले चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख राजनीतिक दल, मन्त्रीहरु, सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र शुभेच्छुकहरुलाई आमन्त्रण गरेको छ।

सञ्चारकर्मीकारुपमा सामाजिक ख्याति कमाएका रवि लामिछानेले आफू राजनीति लागेर देश र जनताको समृद्धिका लागि काम गर्ने भन्दै २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्ने घोषणा गरेका थिए।

रास्वपा निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो। रास्वपाले ०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं. २, ६, ७ र ८, चितवन क्षेत्र नं. १ र २ सहित समानुपातिकतर्फ १४ सिट जितेको थियो। उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट समेत जितेपछि संसद्मा उपसभामुखसमेत २१ सिटसहित चौँथो दलकारुपमा छ।

रास्वपा सभापति रवि लामिछाने हाल सरकारको उपप्रधान तथा गृहमन्त्री छन् भने वर्तमान सरकारमा रास्वपाबाट चार मन्त्री बनेका छन्।

Skip This
Skip This
Logo