विदेशमा भएका नेपाली नागरिकको सुरक्षामा सरकार सजग छः परराष्ट्रमन्त्री राणा

विदेशमा भएका नेपाली नागरिकको सुरक्षामा सरकार सजग छः परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार सजग रहेकाे बताएकी छिन् ।

बुधबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले युद्ध हुने सम्भावना र आन्दोलन भइरहेका देशमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् । ‘विभिन्न मुलुकमा अशान्ति फैलिएको छ, नेपाली हरेक देशमा पुगेका छन्, विभिन्न देशमा भएको घटनाले अहिले कतै नेपाली असुरक्षित हुने हैनन् भन्ने चिन्ता बढेको छ, तर उहाँहरुको सुरक्षाका लागि सरकार सजग छ ।’ उनले भनिन् ।

बंगलादेशमा आन्दोलन चर्किनुअगावै त्यहाँ रहेका नेपालीको अवस्था बुझेको पनि उनले जानकारी गराइन् । ‘हामीले आन्दोलन हुने अगावै बंगलादेशमा पढ्न गएका विद्यार्थीलाई फर्किने विषयमा दूतावास मार्फत विद्यार्थीहरूसँग कुरा गरेका थियौं, तर, उहाँहरूले ३/४ महिना पढाइ बाँकी छ, त्यसपछि फर्किने भनेर कुरा गर्नु भएको थियो,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणाले भनिन् । 

उनका अनुसार बंगलादेशमा अहिले करिव ३०० जना नेपाली रहेका छन् । बंगलादेशको अचानक अवस्था बिग्रिएपछि थप समस्या सिर्जना भएको उनको भनाई थियो । अझै बंगलादेशमा रहेका विद्यार्थी नेपाल फर्किन चाहे उद्धार गर्न सरकार सक्षम रहेको उनले बताइन् । 

यस्तै, इजरायल–प्यालेस्टाइन युद्धले पुनः निरन्तरता पाउने सम्भावना रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले त्यहाँबाट पनि उद्धारको कोसिस भइरहेको जानकारी गराइन् । इजरायलमा १४ सय नेपाली छन् । जसमध्ये ८ सय जना वैधानिक तरिकाबाट नगएको पाइएकाे उनको भनाई छ । उद्धार र सुरक्षाको लागि राजदूतावासहरु हाइअलर्ट रहेको पनि उनले बताइन् ।

Logo