काठमाडौं । जीवनमा अध्ययन यस्तो चीज हो जसलाई कुनै कुराले पनि अवरोध गर्दैन् । नत उमेरले छेक्छ नत अन्य कुराले नै । यसको ज्वलन्त उदाहरण हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी ।
उनीहरु आफ्नो कार्यमा व्यवस्ततामा बाबजुत यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका छन् । चैत्र १० गते देखि सुरु हुने एसईईको लागि दुवै जनाले तयारी तिब्र पारेका छन् । सदाबहार नायिकाको उपमा पाएकी अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षाको तयारी तिब्र पारेकी छन् ।
सधैजसो होलीको उमंग छाउने उनको घरमा एसइई परीक्षाकै कारण यसपटक होलीको कुनै पनि कार्यक्रम गरिएन् । नयाँ शक्ति नेपाल पार्टीबाट सक्रिय राजनीति समेत गरिरहेकी अभिनेत्री करिष्माको दैनिकी यतिबेला परीक्षाको तयारी गर्दागर्दै बित्छ । भविष्यमा नामको अगाडि ‘डा.’ लेखाउने दृढ ईच्छा उनको छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा संसदीय सचेतक शान्ता चौधरी पनि यो बर्ष एसइई परीक्षा दिँदै छिन् । दाङको घोराही उप महानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३७ वर्षीया सांसद चौधरीले तुलसीपुरस्थित महेन्द्र माध्यामिक विद्यालयबाट परीक्षा दिन लागेकी हुन् ।
परीक्षाको तयारीका लागि उनले चैत २० गतेसम्मका लागि संसदबाट बिदा समेत लिएकी छन् । यतिबेला उनी दाङस्थित आफ्नो निवासमा बसेर परीक्षाको तयारी गरिरहेकी छन् । अधिकांश विषयमा ट्युसन क्लास लिएकी उनले पछिल्लो केही सातायता कुनै पनि कार्यक्रममा सहभागिता जनाएकी छैनन् । उनको पनि करिष्माको जस्तै नामको अगाडि डा. लगाउने लक्ष्य छ ।





























प्रतिक्रिया