काठमाडौं । सहकारीको करोडौं रकम अपचलन प्रकरणमा कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले निगरानी बढाएको छ ।
सूर्य थापाको नेतृत्वमा रहेको संसदीय छानबिन समितिले सहकारीको ६५ करोड रकम अपचलन गरेको विषयमा लामिछानेलाई समेत प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेपछि उनीमाथि प्रहरीले तत्कालै अनुसन्धान बढाउने तयारी गरेको हो ।
सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए पनि समितिले तयार पारेको प्रतिवेदनमा स्पष्टसँग भनिएको छ— ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’
तर, रास्वपा यो मान्न तयार छैन । बरु क्लिन चिट पाए भनेर खुशी सेलिब्रेसन गरिरहेको छ । तर, कागजात छैनन् भन्दैमा लामिछानेले उन्मुक्ति पाउन नसक्ने कुरा छानबिन समितिको प्रतिवेदनमै उल्लेख छ ।
लामिछाने गोर्खा मिडिया ग्रुप अन्तर्गत रहेको ग्यालेक्सी टेलिभिजनका तत्कालिन सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशक समेत हुन् । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुरक जोहेरी नै परेको थियो । तर, कारवाही सिफारिस गरेसकेको अवस्थामा त्यही पुरक जाहेरीकै आधारमा अनुसन्धान अघि बढाउन सक्ने आधार प्रहरीले खोजिरहेको उच्च स्रोत बताउँछ ।































प्रतिक्रिया