काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छिन् ।
नेपाल रिपब्लिक मिडियाद्वारा आज आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गरिन् ।
परराष्ट्रमन्त्री डा देउवाले भनिन्, “कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।”
उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन् । अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप–२९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डनबर जोनसन, रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, जीवाष्म इन्धन निःसस्त्रीकरण सन्धि पहलका लागि विश्वव्यापी संलग्नता निर्देशक हरजित सिंह, जलवायुविज्ञ सन्तोष नेपाललगायतले जलवायु परिवर्तनले गरेका असरका बारेमा जानकारी गराउँदै समाधानका लागि गर्नुपर्ने पहलका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरे ।































प्रतिक्रिया