नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छः मन्त्री पाण्डे

नेपाल एयरलायन्सलाई चुस्त र प्रभावकारी बनाउन अध्ययन जारी छः मन्त्री पाण्डे

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा बृहत् अध्ययन गरिरहेको बताएका छन् ।

सरकार गठनपछिका एक सय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङ गर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनका लागि मन्त्रालयले प्रयास गरिरहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल एयरलाइन्सका सम्बन्धमा बृहत् अध्ययन गरिरहेका छौँ । अनौपचारिक रूपमा यसको बृहत्तर हुँदै छ । नेपाल एयरलाइन्सका सम्बन्धमा विगतमा बनेका समितिहरू, समितिले दिएका प्रतिवेदनहरू र निकालिएका निष्कर्षमा देखिएका चुनौतीहरूलाई मुख्य अध्ययनको विषय बनाएका छौँ । कुनै साधारण समिति बनाएका छैनौँ । असाधारण तरिकाले हामी अध्ययन गरिरहेका छौँ । कार्यकारी अध्यक्षलाई स्पष्टीकरण पनि सोधेका थियौँ । विविध विषयहरू समेटेर स्पष्टीकरण सोधेका थियौँ र जवाफ पनि प्राप्त भइसकेको छ । हाम्रो अध्ययनको विषय उहाँको स्पष्टीकरणको जवाफ पनि हो ।’

साथै उनले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनका लागि कानूनी, संरचनागत कमजोरी, प्राविधिक समस्या र प्रशासनिक समस्याको निचोड निकालिने बताए । उनले भने, ‘नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छौँ । कानूनी कमजोरी के हो ? नीतिगत कमजोरी के हो ? संरचनागत कमजोरी र प्राविधिक समस्या के हो ? प्रशासनिक समस्या के हो ? यी सम्पूर्ण कुराको निचोडमा पुगेर नेपाल एयरलायन्सलाई सुधारेरै छाड्छौँ । यस्तै अवस्थामा रहन दिने छैनौँ ।’

राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुरमा हवाइ उडान सञ्चालनका लागि जग्गाको व्यवस्थापन र स्थानीय सरकारसँग सहकार्यमार्फत काम अघि बढेको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटन क्षेत्रका लागि हवाइ र सडक सुरक्षा प्रमुख हुने भएकाले त्यसको विश्वसनीयताका लागि काम गर्नुपर्ने बताए । सम्बन्धित निकायले त्यसका लागि गम्भीरताकापूर्वक काम गर्नुपर्ने औँल्याए ।

Logo